सिरहा,मंसिर २२ गते – सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच मंगलबार कुटाकुट हुँदा अध्यक्षको दात भाचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ । किसानका लागि ल्याइएको बिऊ बिजन बितरण गर्ने विषयमा उत्पन्न विवादका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषादेवी मण्डलबीच कुटाकुट भएको हो । अध्यक्ष र उपाध्यक्षबीच भएको कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दात भाचिएको छ भने उपाध्यक्ष मण्डलको हातमा चोट लागेको छ । कुटपिटबाट घाइते भएका दुबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानियवासीले जानकारी दिएका छन् । बैठकमा दुबैबीच विवाद हुँदा उनीहरुले एक अर्कामाथी कुर्सीले आक्रमण गर्दा अध्यक्षको दात टुटेको र उपाध्यक्षको हातमा चोट लागेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख यादवका अनुसार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरीद गरि ल्याइएको ५ सय बोरा बिऊ बिजन कसरी बितरण गर्ने सन्दर्भमा बैठक बोलाइएको थियो । बैठकमा अध्यक्ष मण्डलले केही वडामा मात्र बिऊ बिजन बितरण गर्ने र उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीका दरले बितरण गर्नु पर्ने अडान लिएपछि उत्पन्न विवाद गाली गलौज हुँदै कुटपिटमा परिणत भएको थियो । यता डिएसपी माधवप्रसाद काफ्लेले घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटाइएको एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान थालेको जानकारी दिएका छन् । विगत दुई वर्षदेखी सो गाउँपालिकाको गाउँ सभा हुन नसकेको अवस्थामा गत हप्ता मात्र गाउँ सभा सम्पन्न भएको थियो । सभा सम्पन्न भएपछि डाकिएको कार्यपालिकाको बैठकमा दुबैबीच भएको विवादले उग्ररुप लिएपछि उक्त दुखद घटना भएको हो




















