सिरहा, मंसिर १५ गते । एकीकृत नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेले यथास्थितिमा जस्ताको तस्तै एम.सी.सी. पास गर्न खोजे नेपाली कांग्रेससँगको सहकार्य टुट्ने वताउनुभएको छ ।

आज सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नेकपा माओवादी केन्द्रको प्रथम नगरसम्मेलनको उद्घाटन सत्रमा बोल्नुहुँदै नेता पोखरेलले नेपाली कांग्रेसले एम.सी.सी. जस्ताको तस्तै पास गराउन खोजेकोले देश चुन्ने कि गठबन्धन चुन्ने स्थिति आए खण्डमा हामीले गठबन्धनलाई छोड्न सक्ने वताउनुभयो ।

नेता पोखरेलले लामो समयको प्रयासपछि गठबन्धन बनेकोले यो गठबन्धनलाई चुनावसम्म लान खोजेको वताउँदै सबैको अस्तित्व स्वीकार गरी चुनावमा गठबन्धनको ठूलो परिणाम आउने गरी काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

गठबन्धनकै कारण छ वटा प्रदेशमा एकल एमालेको सरकार ढलेको बताउनुहुँदै गठबन्धनलाई अझै मजबुत ढंगले लगी सबै ठाउँमा एमालेलाई जरैदेखि सखाप पार्ने गरी गठबन्धनलाई अझ मजबुत बनाउनुपर्ने नेता पोखरेलले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं.२ का सह इन्चार्ज तथा केन्द्रीय सदस्य विश्वनाथ साह, केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र सिरहाका इन्चार्ज अजय शंकर नायक, केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र सिरहाका संयोजक रामकुमार यादव, धनगढीमाई नगरपालिकाका नगरप्रमुख एवम् केन्द्रीय सदस्य हरिनारायण चौधरी, केन्द्रीय सदस्य सीता पोखरे, नेकपा समाजवादीका नेता उत्तरबहादुर जर्घा मगर लगायतहरुले सम्मेलनको शुभकामना दिनुभएको थियो ।

त्यसबेला नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेशी दल परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई प्रमुख अतिथिले अबिर र माला लगाई पार्टी प्रवेश गराउनुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता प्रदेश कमिटी सदस्य किसुन मण्डलले गर्नुभएको थियो भने संचालन प्रदेश कमिटी सदस्य शुभराज लामाले गरेका थिए ।
बुधबार बिहानदेखि चल्ने बन्द सत्रले नेकपा माओवादी केन्द्र धनगढीमाई नगरले नयाँ नगर कार्यसमिति पाउने आयोजकले जनाएको छ ।




















