सिरहा,मंसिर १३ गते – मंसिर १७ गतेदेखि सुरु हुने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ ।

महोत्सवमा जानकी मन्दिरलाई बेहुली झैं सजाउने तयारी सुरु गरिएको हो । मन्दिरमा रंगरोगन तथा पण्डाल निर्माण लगायतको काम तीव्र रुपमा भइरहेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए । विवाहपञ्चमी महोत्सवमा राम कथा प्रवचनको लागि वृन्दावनबाट बालव्यास हरिशरण महराजलाई आमन्त्रण गरिएको छ भने आज नै उनी जनकपुरधाम आउने भएका छन् । त्यसै गरी महोत्सवलाई दृष्टिगत गर्दै मन्दिर परिसरमा विशेष रुपमा किर्तन भजन कार्यक्रमको आयोजना समेत गरिएको महन्थ दासले बताए । तयारीको क्रममा सोमबार रंगभूमि मैदानको निरीक्षण गरी मेला व्यवस्थापनको तयारी गरिने भएको उनले जानकारी दिए । जनकपुरधाम उप– महानगरपालिका कर्मचारीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएपछि दुर्गन्धित बनेको नगर क्षेत्रमा सरसफाइ लगायतको काम समेत तीव्र रुपमा हुने मेयर लालकिशोर साहले बताए ।jkp

आइतबार उपमहानगरपालिकामा भएको बैठकमा मेयर साहले कर्मचारीहरुलाई विवाहपञ्चमी महोत्सवकै लागि भएपनि आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । विगत तीन वर्षदेखि प्रत्येक वर्ष विवाहपञ्चमीमा औपचारिक रुपमै भारतको अयोध्याबाट जन्तीलाई आमन्त्रण गर्ने गरिएको थियो तर यस वर्ष भने जन्तीलाई आमन्त्रण गरिएको छैन ।

औपचारिक रुपमा आमन्त्रण नगरिएपनि भारतको विभिन्न स्थानबाट साधु सन्तहरुको ठूलै संख्यामा आउने महन्थ दासले बताए । विवाहपञ्चमी महोत्सवमा श्रद्धालुभक्तजनहरुको लागि सार्वजनिक शौचालयको व्यवस्थापन ठूलो चुनौती रहने गरेको छ । महोत्सवमा जनकपुरधाम क्षेत्रका मात्र नभइ भारतीय सीमा क्षेत्रका हिन्दुधर्मावलम्बीहरु ठूलै संख्यामा आउने गरेका छन् । शौचालय व्यवस्थापन लगायतका कामको जिम्मेवारी जउनपालाई दिइएको छ । सोमबारबाट सरसफाइको काम तीव्र रुपमा गरिने मेयर साहले बताएका छन् । मंसिर १७ गते नगर दर्शन, १८ गते विवाह मण्डपमा फूलबारी लीला, १९ गते जानकी मन्दिर परिसरमा धनुष यज्ञ, २० गते राम मन्दिरको प्रांगणमा तिलकोत्सव, २१ गते मटकोर , तथा २२ गते रंगभूमि मैदानमा रामजानकी विवाहोत्सव हुने कार्यक्रम रहेको छ