माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई कमजोर हुने छुट नभएको बताएका छन् । देशव्यापी एकैसाथ भइरहेको माओवादी केन्द्रको नगरस्तरीय अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा पर्ने बताएका हुन् ।
कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भने– ‘हामी कस्तो अवस्थामा आइपुगेका छौँ भने हाम्रो पार्टी कमजोर भयो भने हामी मात्र कमजोर हुने अवस्थामा छैनौँ । विगतमा एउटा पार्टी कमजोर हुँदा अर्को पार्टी बलियो हुने अवस्था थियो । तर आज यस्तो अवस्था छ कि माओवादी केन्द्र कमजोर भयो भने देशको परिवर्तनका एजेण्डा कमजोर हुन्छन् ।’
अध्यक्ष प्रचण्डले अगाडि भने– ‘परिवर्तनका एजेण्डा कमजोर भए राष्ट्रिय एकता कमजोर हुन्छ । राष्ट्रिय एकता कमजोर भयो भने देश दुर्घटनामा पर्छ । देशलाई दुर्घटनाबाट बचाउने, परिवर्तनहरुलाई निरन्तर अगाडि बढाउने दायित्व अहिले माओवादी केन्द्रको काँधमा आएको छ । त्यसकारण हामीलाई निस्क्रिय हुने छुट छैन । हामीलाई हाम्रा एजेन्डाप्रति शिथिल हुने छुट पनि छैन । हाम्रो जे क्रान्तिकारी बिरासत छ, त्यसको रक्षाका लागि अझ ठूलो मिहिनेत, अझ ठूलो दृढताका साथ अगाडि बढ्न आवश्यकता छ ।’
उनले हिजो माओवादीले रगत पसिना बगाएर ल्याएको परिवर्तनबारे बोल्न पनि हिचकिचाहट जस्तो देखिएको भन्दै सबै परिवर्तन माओवादीको आन्दोलनबाटै सम्भव भएको र त्यसको स्वामित्व ९अपनत्व० माओवादीले लिनैपर्ने उल्लेख गरे ।
उनले शान्ति प्रक्रियामा आएपछि माओवादीले विचार संश्लेषण, विचार परिमार्जनको कुरामा कम ध्यान दिएको बताउँदै तात्कालीन राजनीतिक घटनाक्रम, विभिन्न पक्षसँग जोड घटाउ गर्ने, समीकरण भत्काउनेतिर बढी ध्यान दिँदा पार्टी कमजोर भएको बताए ।
उनले भने– ‘पाटीको विचार निर्माणमा हाम्रो कम ध्यान गयो । हाम्रो यहाँ कहीँ न कहीँ त्रुटी भयो । हामीले केन्द्रीय समितिमा आत्मालोचना गरेको विषय पनि हो यो । तत्कालको राजनीतिक जोड घटाउमा मात्र लाग्दा पार्टी वैचारिक रुपमा स्खलित हुने अवस्था देख्यौँ हामीले । बिस्तारै पार्टी शिथिल हुँदै जाने र पार्टीको क्रान्तिकारी चरित्र ह्रास हुँदै जाने खतरा देखियो र हाम्रा पार्टीका कार्यकर्ताहरु पनि अरु पार्टीका बुर्जुवा संशोधनवादी प्रतिक्रान्तिकारी जस्तै व्यक्तिगत हित पदीय स्वार्थ र गुट स्वार्थतिर जाने देखियो । त्यस्तो भयो भने यो पार्टीले ऐतिहासिक अभिभारा पूरा गर्न सक्दैन । त्यसकारण बेलैमा हामीले हाम्रो कमी कमजोरीहरु सच्याउनतिर लाग्नुपर्दछ ।’
अध्यक्ष प्रचण्डले राजनीतिका लागि विचारका साथै संगठन पनि महत्वपूर्ण विषय भएको उल्लेख गर्दै हिजो जनयुद्धमा सहभागी भएका कार्यकर्ता, घाइते, सहिद तथा वेपत्ताका परिवारलाई पुनसंगठित गर्ने कुरामा कमजोरी भएको स्वीकार गरे । उनले अब पार्टीको जनआधारलाई सुदृढ गर्ने र संगठनलाई बलियो बनाउने कुरामा गल्ती नगर्ने प्रतिबद्धता जनाए । प्रचण्डले माओवादीलाई माया गर्ने जनतालाई संगठित गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्ने केन्द्रीय समितिले निर्णय गरेर अघि बढेको बताए ।
उनले आफूले तराईका जिल्लाका जनता, त्यहाँका बुद्धिजीवीहरुसँग भेटेर अन्र्तक्रिया गरेको, अपर डोल्पासम्म पुगेर त्यहाँका जनतासँग अन्र्तक्रिया गरेको, मध्यपहाडी क्षेत्र भोजपुरदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पुगेर पार्टीको अवस्था कस्तो रहेको छ भनेर बुझेको बताए । ती सबै ठाउँमा माओवादी केन्द्रप्रति जनताको आर्कषण बढेको उनले सुनाए ।
उनले भने– ‘प्रतिगमन विरोधी आन्दोलनमा सहभागी भएर पाएको सफलताले गर्दा अहिले फेरि पार्टीप्रति मानिसहरुको आकर्षण बढिरहेको छ । अर्को कुरा केन्द्रीय समितिले हिजोका मुद्दाहरु फेरि दह्रोसँग पक्रेर जान्छौँ भनेर संकल्प र निर्णय गरेका छौँ । जस्तो हामीले हरेक तहका सम्मेलनमा कम्तिमा ३५ प्रतिशत महिला राख्ने भनेर निर्णय गरेका छौँ, सोही अनुसार वडा सम्मेलनबाट महिला सहभागिता बढेको छ । केन्द्रीय समितिसम्म यो कुरालाई हामी लागू गर्छौं । युवाहरुको सहभागितालाई उच्च स्थान दिनुपर्छ भनेर २० प्रतिशत स्थान छुट्याएका छौँ । त्यस्तै दलित, जनजातीको मुद्दालाई हामीले उठाएको र फेरि नयाँ शिराबाट उठाउछौँ भनेर लागिरहेका छौँ ।’
उनले तराईमा माओवादीमा प्रवेश गर्ने लहर चलेको, एकै जिल्लामा पाँच ७ सय शिक्षक जनता पार्टीमा प्रवेश गरेको उल्लेख गरे । उनले पहाडी र हिमाली क्षेत्रमा पनि माओवादीप्रति लहर बढेको भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई इमान्दारितापूर्वक र जिम्मेवारीपूर्वक पार्टी नेतृत्वको निर्देशन मान्दै एक ढिक्का भएर अघि बढे देशको १ नम्बर पार्टी बनाउने परिस्थितिमा रहेको उल्लेख गरे ।
उनले फेरि पनि जनतामा माओवादीप्रति आशा भरोसा बढेर गएको उल्लेख गर्दै यो अवसरलाई कुनै हालतमा चुक्न दिन नहुने बताए । उनले कार्यकर्ताहरूलाई माक्र्सवादी दृष्ट्रिकोणअनुसार बदल्न र आत्माआलोचित भएर आफूलाई रुपान्तरण गर्र्दै सिंगो समाजलाई रुपान्तरण गर्ने बाटोमा लाग्न आग्रह गरे ।
समावेशी र सामानुपातिक प्रणालीलाई दह्रोसँग नसमाते प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुले परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र गरिरहेको प्रचण्डको दावी छ ।




















