सिरहा,मंसिर ९ गते – राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा अन्त्यको लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएकी छन्। महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको शुभकामना दिँदै महिला आत्मनिर्भर भए आत्मनिर्भर भए हिंसा कम हुनसक्ने बताएकी हुन्।

उनले समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। ‘समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नु पर्दछ। महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ।’ उनले भने, ‘यसका साथै महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्नसके मात्र महिलाविरुद्ध हुने हिंसा कम गर्न सकिन्छ भन्ने मलाई लाग्दछ।’

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्‍वभर सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ आजबाट सुरू भएको छ। यस अभियानलाई नेपालमा पनि ‘घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी सञ्चालन गरिँदैछ।

नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने संकल्प गरेको सन्देशमा उल्लेख छ। पछिल्लो समय जननिर्वाचित संस्थाहरूमा महिलाहरूको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको उनले बताइन्। यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत र अन्धविश्‍वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएको उनको भण्डारीको बुझाई छ।

राष्ट्रपति भण्डारीले लैङ्गिक हिंसाविरूद्ध ऐक्यवद्धतासहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन आह्वान गरेकी छन्