बारा,मंसिर ९ गते– बारा जिल्लामा बलात्कारका घटना बढ्दै गएका छन् । प्रत्येक महिना एक देखि चारवटा बलात्कारको घटना हुने गरेका छन् ।चालू आर्थिक बर्ष ०७८/७९ को साउनदेखि कात्र्तिक मसान्तसम्म १२ वटा वलात्कार तथा जबरजस्ती करणी उद्योगको आठ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
साउनमा ३, भदौमा ४, असोजमा ४ र कात्र्तिकमा एउटा वलात्कार भएको छ भने, साउनमा ५, भदौ, असोज र कात्तिकमा एक वटा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको बारा प्रहरीले जनाएको छ । प्रत्येक महिना एक देखि चार वटासम्म बलात्कारको घटना दर्ता हुने गरेको छ ।
दर्ता भएका जबरजस्ती करणीका घटनामध्ये एक अप्राकृतिक मैथुनसँगै बाल यौन दुरुपयोगको घटना समेत रहेका छन् । बलात्कारको घटनामा बढी आफन्त तथा छिमेकीहरुबाट नै हुने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी अधिकृतहरु बताउनुहुन्छ । गाउँटोलमा अहिले पनि यस्ता घटनाहरु स्थानीय तहमा रकम लेनदेन, राजनीतिक दवाव गरी मिलाउने गरेका र नमिलेपछि पीडित पक्षबाट मुद्दा गर्न लगाउने देखिएको छ । गतवर्ष ०७७र७८ मा ४० वटा बलात्कारका र आठ वटा जबरजस्ती करणी उद्योगका घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यस्तै, ०७६/७७ मा ४४ वटा बलात्कार र १३ वटा जबरजस्ती करणी उद्योगका घटना भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यस्तै, चालू आर्थिक वर्ष ०७८/७९ को साउनदेखि कात्तिक मसान्तसम्म तीन वटा बहुबिबाहको घटना दर्ता भएको छ भने, गतवर्ष १३ वटा बहुबिबाहको घटना दर्ता भएको थियो । बलात्कारको आरोपमा करिब दश जना अभियुक्तलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गरिएको र अन्य फरारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताउनुभयो ।
गतवर्ष ०७७/७८ मा जिल्लाका १६ स्थानीय पालिकामा ४८ वटा बलात्कार तथा जबरजस्ती करणी उद्योगको घटना भएको थियो । जितपुरसिमरा उपमहानगरपालिकामा १२, कलैया उपमहानगरपालिकामा ४, निजगढ नगरपालिकामा ४, कोल्हवीमा ४, महागढीमाईमा ३, पचरौतामा १, सिम्रौनगढमा २, फेटा गाउँ पालिकामा २, बिश्रामपुरमा १, सुर्वणमा २, बारागढीमा ३, आर्दश कोतवालमा २, प्रसौनी ५, करैयामाई ३, परवानीपुर र देवतालमा ० को सँख्यामा बलात्कारको घटना भएको प्रहरीले जनाएको छ




















