सिरहा,मंसिर २ गते –नयाँ सवारी साधन किन्नेहरुले अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू गरेको हो ।
आजदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार सवारी धनीले आवेदन दिइसकेपछि विभागले प्रमाणीकरण गरी विभागको सिस्टमबाट इम्बोस्ड नम्बरप्लेट जारी गर्नेछ ।
त्यसपछि सवारीधनीले कोड पाउँछन् । उक्त कोर्ड लिएर यातायात व्यवस्था कार्यालय गएपछि उनीहरूले इम्बोस्ड नम्बरप्लेट प्राप्त गर्नेछन् । विभागले दिएको इम्बोस्ड नम्बरप्लेट अनिवार्य रूपमा सवारीधनी आफैँले जडान गर्नुपर्नेछ । इम्बोस्ड नम्बरप्लेटमा सवारी धनी र सवारी साधनको सम्पूर्ण विवरण रहने छ भने विद्युतीय चिप्स पनि रहने छ




















