काठमाडौं,मंसिर १ गते – बर्दिया, मधुवन नगरपालिका–६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

भने देवचुली नगरपालिका–१२ गैडी बस्ने होमराज गिरीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय चित्र बहादुर काफ्ले लगायत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको  भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९७ हजार ३ सय १० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

अर्को पोखरा महानगरपालिका–४ कालिमाटी चोकस्थित राम कुमारी पराजुलीको मझेरी खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–५ बस्ने धादिङ घर भएका ५० वर्षीय मोहन थापा मगर लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।