सर्लाही,कार्तिक २९ गते । उपभोक्ता समितिको कार्य सम्पन्न सिफारिश गरेको वापत लिईएको रकम सहित दुई वडा सदस्यलाई घुस सहित अख्तियार टोलीले आज पक्राउ गरेको छ ।
जिल्ला सर्लाही, इश्वरपुर नगरपालिका वडा नं.११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई एक लाख पचास हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले निज पक्राउ गरेको छ ।
सदस्यद्वय ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिए वापत घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटि गएको टोलीले निज सोनेलाल साह र उमेश रायलाई घुस रकम सहित पक्राउ गरेको छ ।
उनीहरुलाई जिल्ला सर्लाही लालबन्दी, नगरपालिका वडा नं. ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेज बाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसाल जानकारी दिनुभयो ।




















