अधिकारकर्मीहरुले पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना दिएका छन् ।बाँकेको निर्मला कुर्मी प्रकरणमा मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् । प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले जनाईन ।

प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन धर्ना बसेका महिलाहरुले आग्रह गरेका छन् । साथै, उनीहरुले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले घटनामा संलग्न ७ जना पक्राउ परिसकेको बताउँदै बादशाहलाई समात्न कानूनी आधार नभएको जनाएको छ । उनी पहिल्यै बयान दिएर हाजिरी जमानीमा छुटेको भन्दै प्रहरीले पक्राउ गर्न नमिल्ने बताउँदै आएको छ ।