सिरहा,कार्तिक २९ गते – प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलामा ६ विघा जमिनमा गरिएको गाँजा खेती फडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नारायण खोलास्थित कामिटार, मोटरदोभान, तोरी बारी, हात्तीसुँढे र ब्रह्मस्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।
गाँजा फडानी गर्न सशस्त्र प्रहरी बलको हरिवन बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापा र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट प्रहरी निरीक्षक सुरेश ठाकुरको नेतृत्वमा प्रहरीको संयुक्त टोली आइतवार नारायण खोला पुगेको थियो ।
सशस्त्र र नेपाल प्रहरीको दुवै टोलीले ६ बिघामा लगाइएको करिव ५० हजार बोट गाँजा फडानी गरेर फर्किएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार गाँजा फडानी गर्न नारायण खोला पुगेको टोली त्यहाँबाट आइतवार बेलुका अबेर फर्किएको हो ।
नारायण खोला जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्रमा पर्छ । चुरे भेगमा पर्ने त्यस ठाउँका वासिन्दाले राम्रो आम्दानी हुने देखेर केही वर्षअघिदेखि अन्य बाली लगाउन छाडी व्यावसायिक रुपमा अवैध लागूऔषध गाँजाको खेती गर्दै आएका छन् ।
प्रहरीले वर्षेनी त्यहाँ पुगेर गाँजा फडानी गर्दै आइरहेको भए पनि स्थानीयवासीले त्यसको खेती गर्न भने छाडेका छैनन् । गाँजाका बोटले अहिले नारायण खोलाका पाखो बारी हरियै भएका छन् । दुईरचार दिन प्रहरी पुगेर फाँड्न नसक्ने गरी गाँजा खेती भइरहेको पाइएको नारायण खोला पुगेर फर्किनुभएका एक प्रहरी अधिकारीले बताउनुभयो




















