सिरहा,कात्तिक २५ गते । राष्ट्रिय जनगणनाका लागि सिरहामा आजबाट जनगण्नाको गणक परिचालन गरिएको छ ।
आजबाट सुरु भएको जनगणनाको लागी सात सय ४६ जना गणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय सिरहाले जनाएको छ । राष्ट्रिय जनगणनाका लागि सम्पूर्ण तयारी पूरा गरी आजबाट गणनाको कार्य आरम्भ गरिएको जिल्ला जनगणना कार्यालय सिरहाका प्रमुख शंकर ठाकुरले जानकारी दिनुभयो ।
मंसिर ९ गते सम्म चल्ने जनगणनालाई प्रभावकारी बनाउन जिल्लाका १७ स्थानीय तहलाई गाभेर मिर्चैयो, गोलबजार, सिरहा, सुखिपुर, भगवानपुर, लहानसहित ६ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरेको पनि ठाकुरले जानकारी दिनुभयो ।
गणकहरु प्रत्येक घरमा पुगेर विवरण संकलगन गर्ने प्रमुख ठाकुरले बताए । जनगणना प्रभावकारी वनाउनको लागि ४ जना गणकमा एक जना पर्नेगरी एक सय ८५ जना सुपरिवेक्षक परिचालन गरिएको जनाएको छ । गणना प्रभावकारी भए, नभएको अनुगमन गरिने उनले जानकारी दिनुभयो ।
विभिन्न चरणमा तालिम दिएर तयार पारेका गणकहरु केही समस्या परेर कम भएको छ, त्यसमा पनि नयाँ छनोट गरेर तालिम दिई तयार पारेर खटाउने प्रमुख ठाकुरले जानकारी दिनुभयोे ।




















