सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ । 

सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । 

पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठपर्वमात्र नभएर अन्य धेरै चाडवाड साझा बन्दै गएका कारण वर्षेनी छठ पर्वको भक्तजनहरु बढ्दै गएको छ ।

मनोकामना पूरा हुने जनविश्वासको कारण वर्षौदेखि छठ पर्व मनाउँदै आएका छन् । विधि विधान अनुसार निःसन्तानलाई सन्तान प्राप्ति, चर्म रोग निको हुने जनविश्वासका कारण छठ पर्व लोकप्रिय हुँदै गएको छ ।