अनुभक्त चौधरी । सिरहा, कार्तिक २४ गते । तराई मधेशमा हर्सोउल्लासले श्रद्घापुर्वक कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाईने छठ पुजाको सम्पुर्ण तयारी पुरा भएको छ ।
सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्वमा छठका समानहरु किनमेल देखि लिएर पोखरी,नदी, तलाउ,कुलो र जलासयलाई सफा सुघर गरेर बेहुलिझै सिङ्गारिएको छ ।

व्रतालुहरू पानी समेत नखाई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् ।

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । जलाशयमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।





















