सौगात अधिकारी । जनकपुरधाम कार्तिक २३ गते । बडो आस्थापूर्वक मनाउने छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदैछ ।
खर्नाका दिन व्रतालु महिला र पुरुषहरुले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर, केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गर्छन्। यसरी खरना विधि सम्पन्न हुन्छ ।
छठपर्वको पहिलो दिन सोमबार नहायखाय विधि सम्पन्न भएको छ । कात्तिक शुक्लपक्षमा चारदिनसम्म मनाइने छठपर्वको तराईमधेसमा यतिबेला अलग्गै रौनक छाएको छ । छठपर्व मनाउनेहरु पोखरी, नदी, तलाउलगायतका जलाशयहरुलाई सरसफाई गरी सजावट गर्नमा व्यस्त छन् । जलाशयहरुलाई बेहुलीझैं सिंगारिने काम भइरहेको छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथीमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत रुपमा समापन हुन्छ ।




















