सौगात अधिकारी । जनकपुर, कार्तिक २२ गते । जनकपुरधाम उपमहा नगर कार्यपालिकाको बैठकको माग गर्दै वडाध्यक्षहरुले नगर उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् ।
नगरकार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानूनी व्यवस्था भएपनि नगरप्रमुख लालकिशोर साहको वेवास्ताको कारण विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको भन्दै उपमहानगरका १२ जना वडाध्यक्षहरुले उपप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् ।
७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल गराएर कानून बमोजिम निर्णय गरिदिन माग गर्दै आफूहरुको मागलाई बेवास्ता गरिए कानूनी प्रक्रिया अनुसार थप कदम अगाडि बढाउने चेतावनी समेत वडाध्यक्षहरुले गरेका छन् ।




















