सिरहा, कार्तिक २० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं।५ स्थित तैंतिस विगहामा एमाले पार्टी लगायत अन्य पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश भएको छ ।

नव प्रवेशी रामकरण यादव, शिवनाथ यादव, राजकुमार यादव, रामकुमार यादव, भोगी साह लगायतलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले अबिर लगाई पार्टी प्रवेश गराउनुभएको छ ।

नव प्रवेशीलाई स्वागत तथा शुभकामना व्यक्त गर्नुहुँदै नेता चौधरीले सबैको सहयोगले मात्र देश र समाज निर्माण गरिन सकिने कुरा बताउनुभएको छ । सबैको अस्तित्व स्वीकार नगर्दा के।पी।ओलीले अहिले पश्चाताप गरिरहेको वताउनुहँदै नेता चौधरीले त्यसैको परिणाम स्वरुप ओलीको प्रधानमन्त्री पद गुम्नुको साथै कुनै पनि प्रदेशमा एमालेको सरकार नरहेको जिकिर गर्नुभयो ।

ओलीको निरंकुश शैलीले गर्दा हजारौंको बलिदानी पश्चात प्राप्त सबै उपलब्धीहरु गुम्ने खतरा देखिएकोले पाँच दलीय गठबन्धन गर्नुपर्ने वाध्यात्मक स्थिति भएको उल्लेख गर्दै नेता चौधरीले एमाले पार्टी संघ, प्रदेश र स्थानीय तहमा कमजोर हुँदै गएकोले गठबन्धनको अगुवाई गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा सबै समाहित हुनुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका शुभराज लामा, बुद्धिलाल चौधरी, धनिकलाल मण्डल, सिंहेश्वर महतो, रामप्रसाद चौैधरी, रामनाथ महतो, विरदेव महतो लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।




















