सिरहा,कार्तिक १८ गते । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व आज कार्तिक कृष्ण आमावश्या अर्थात गाईतिहारे औंसी तिथि दिपावली मनाउँदैछन । कार्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ ।
कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भन्ने गरिएको हो । औंसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ । घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिर देखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत रुपमा यसको पूजा गरिन्छ ।
हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा षोडशोपचारमध्ये एउटा विधिबाट गरिन्छ । पञ्चोपचार अर्थात पाँच किसिमको पूजा सामग्री प्रयोग गरेर गरिने पूजा र षोडशोपचार अर्थात् सोह्र किसिमको पूजा सामग्री प्रयोग गरेर पूजा गर्ने दुई विधि हिन्दु शास्त्रमा उल्लेख छ ।
ध्यान–आवाहन, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, यज्ञोपवित, गन्धाक्षत, पुष्प, धुप, दीप, नैवेद्य, ताम्बुल, दक्षिणा, जल आरती, मन्त्र पुष्पाञ्जली र प्रदक्षिणा–नमस्कार, स्तुति गरी १६ किसिमको विधि पूरा गरेर गरिने पूजा षोडशोपचार विधि अन्तर्गत पर्छ । पञ्चोपचार विधिमा भने चन्दन, अक्षता, फूल, धूप र बत्तीको प्रयोग गरिन्छ ।
‘शास्त्रले देवीदेवताको पूजा गर्दा शब्दमा गल्ती भएपनि भावमा गल्ती हुन नहुने बताउँछन । शास्त्रमा भनिएको छ कि ‘पितरो वाच्य मिच्छन्ति, भाव मिच्छन्ति देवता’ अर्थात पितृहरुको कर्म गर्दा निर्दिष्ट मन्त्रको हुबहु मिल्नुपर्छ, तर देवताहरुको लागि भने भाव मात्रै मिले पनि हुन्छ ।’ त्यसैले पनि लक्ष्मीपूजा गर्दा आफैंले विधि बुझेर गर्न सकिने शास्त्र विज्ञहरु बताउँछन ।




















