कञ्चनपुरमा,कार्तिक १४ गते । कैलाली र कञ्चनपुरमा गाडी चोर्ने गिरोहका पाँचजनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। बेलौरी नगरपालिका ४ बेलौरी बजारमा रहेको डिडि अटो मोबाइलको सोरुमबाट चोरेका तीनवटा १५० सिसिका बजाज पल्सर मोटरसाइकलसहित गिरोहका पाँच जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाको नेतृत्वमा खटिएको प्रहरी टोलीले, सोरुमको सटर तोडेर चोरी भएका तीनवटै मोटरसाइकल बरामद गरेको छ । प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का २० वर्षका विवेक बम, सोही वडाका २४ वर्षका लक्ष्मण चुनारा, वडा नम्बर १२ का १९ वर्षका ठगी राना वडा नम्बर १ का २० वर्षका पारस विष्ट र वडा नम्बर १ कै १८ वर्षका किरन नाथलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले लिएको उनीहरुको प्रारम्भीक बयान अनुसार कार्तिक ६ गते दिउँसो उनीहरुले शुक्लाफाँटा नगरपालिका १ का शैलु रानाको कटेजमा डिडि अटो मोबाइल तोडेर मोटरसाइकल चोर्ने योजना बनाएका थिए।
पक्राउ परेका पाँचजना र थप २ जनाले सबैभन्दा पहिला सोरुममा लगाइएको सिसि क्यामेराको तार काटे । त्यसपछि उनीहरुले घरेलु हतियारले सोरुपमको सटर तोडे । सटर तोडेपछि उनीहरुले १५० सिसिका तीन वटा मोटरसाईकल चोरी गरे ।
प्रहरी निरीक्षक कमल खडकाको नेतृत्वमा खटिएको टोलीले चोरी भएकै १२ घण्टाभीत्र विवेक बम र पारस विष्टलाई पक्राउ गर्यो । दुवैजनाको बयानका आधारमा प्रहरीले शुक्लाफाँटा नगरपालिका १ का किरन रावलको घर नजिकैको परालको थुप्रोमा लुकाइ राखेको २ वटा मोटरसाइकल बरामद गरेको छ ।
अनुसन्धानकै क्रममा प्रहरीले कार्तिक १२ गते किरन नाथ र कार्तिक १३ गते लक्ष्मण चुनारालाई पनि पक्राउ गरेको छ । कार्तिक १२ गते पक्राउ परेका किरन नाथको साथबाट प्रहरीले चोरी भएको तेस्रो मोटरसाईकल पनि बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीले सिसि क्यामेराको तार काटेर चोरी गरेकाले अनुसन्धानमा ढिलाइ भएको जनाएको छ । तर सिसि क्यामेरामा विवेक बम र ठगी रानाले राती सोरुमतिर जाँदै गरेको फुटेज भने फेला परेको थियो । त्यस फुटेजका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ




















