सिरहा, कार्तिक १२ गते । प्रदेश नं.२ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले युवापीढिमा लडरलाग्दो रुपमा फैलिरहेको लागु औषधलाई न्यूनीकरण गर्न तर्फ लाग्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

आज सिरहाको गोलबजारमा रामप्रताप रामप्रसाद तामांग बहुमुखी क्याम्पस गोलबजार हाताभित्र माननीय जगतप्रसाद यादवको संसदीय विकास कोषबाट बनेको सभाहललाई उद्घाटन गर्नुहुँदै मन्त्री साहले लामो कोभिडको कारण युवा पीढिमा पढाई प्रति ध्यान कमजोर हुँदै गएको तथा दुव्र्यसनीतर्फ आकर्षण बढ्दै गएकोले यस्ता गतिविधि रोक्न प्रदेश नं. २ का सबै खुल्ला सिमाना वरिपरि प्रहरी सक्रियता बढाउन निर्देशन दिएका हुन् । 

लागू औषधको कारण युवा पीढिमा नाकारात्मक असर परिरहेकोले यसलाई बेलैमा निराकरण गर्न नसकिए भयावह रुपमा फैलिने भएको उल्लेख गर्दै मन्त्री साहले दुव्र्यसनीमा लागेका युवाहरुलाई पक्राउ गरी सुधार केन्द्रमा राख्नुपर्ने वताउनुभयो । दुव्र्यसनीमा परेकाहरुको लागि सुधार केन्द्रको रुपमा छिट्टै नै सरकारको तर्फबाट सुधार केन्द्र भवन समेत बन्ने मन्त्री साहले उल्लेख गर्नुभयो । 

विद्यमान विवाह उमेर हदबन्दी बढी भएकाले समय सापेक्ष अनुसार विवाह उमेर १८ वर्ष राखिए युवाहरुले भागेर विवाह गर्ने परिस्थिति विस्तारै हटेर जाने मन्त्री साहले उल्लेख गर्नुभयो । वातावरणीय प्रभावका कारण पहाड र तराईको मौसम पनि फरक फरक भएको उल्लेख गर्नुहुँदै तराई मधेशमा गर्मी मौसमका कारण युवाहरु कमै उमेरमै परिपक्क हुने गरेकाले यस्तो समस्या आइपर्दा अभिभावकहरुलाई तनाव भइरहेको मन्त्री साहले उल्लेख गर्नुभयो ।

दीपावली तथा छठ पर्व नजिंकिदै गएको प्रसंग कोट्याउँदै मन्त्री साहले चाड पर्वमा खेलिने जुवा तास, जाँडरक्सी जस्ता गतिविधिलाई रोक्न प्रहरीलाई निर्देशन दिंदै चाडवाड भड्किलो, उच्छृखल गतिविधि नगर्न सबैमा आग्रह समेत गर्नुभयो । 

रामप्रताप रामप्रसाद तामांग बहुमुखी क्याम्पसलाई माननीय जगत प्रसाद यादवको संसदीय विकास कोषबाट पटक पटक गरी हालसम्म एक करोड पाँच लाख रकम प्रदान गरेको छ । उक्त रकमबाट साइकल स्टेण्ड, सभा हल, क्याम्पसको रंगरोगन लगायतका काम सम्पन्न भएको छ । अगामी बजेटमा पनि क्याम्पसको भौतिक पूर्वाधारको लागि थप ३० लाख रकम विनियोजन गरेकाले क्याम्पसको लागि थप भौतिक निर्माण गर्नमा सहयोग पुग्ने क्याम्पस प्रमुख किशोर साहले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रदेश सभासदस्यहरु जगतप्रसाद यादव, दिलिप साह, पूर्व मन्त्री महेन्द्र पासवान, नगरप्रमुख देवनाथ साह, श्रवण यादव, गंगा पासवान लगायत स्थानीय राजनीतिक, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । सभाहल उद्घाटन तथा शुभकामना कार्यक्रमको अध्यक्षता सूर्यमान तामांगले गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रदीप साहले गरेका थिए ।