सिरहा, कात्तिक १२ गते –कोरोनाको कारण अन्तराष्र्टिय बजारमा हस्तकला निर्यात व्यापार शिथिल हुँदै गएको समयमा जनकपुर धाममा शुक्रवारदेखि दोस्रो प्रदेश स्तरीय महिला हस्तकला प्रदर्शनी हुने भएको छ ।
बिशेश गरेर प्रदेश २ तथा देश भरीकै उत्पादित हस्तकलाबाट तयार भएका सामग्रीको बजारलाई ब्यवस्थित बनाउन सो प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए ।
मेलाको उद्घाटन प्रदेश २ का महिला बालबालिका तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले गर्नेछन् । प्रदर्शनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासंघको संयुक्त आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सहआयोजनामा हुने बताईएको छ । जनकपुरधामको गोपाल धर्मशालामा हुने प्रदर्शनी शुक्रवारदेखि आइतवार सम्म रहने छ । प्रदर्शनीमा ७० देखि ९० वटा स्टल रहने जनाइएको छ ।
स्थानीय सीप, कलातथा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा महिला उद्यमीले गरेका उत्पादनको बजारीकरण, घरेलु हस्तकला उद्योगप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो




















