सुरेश राय
सिरहा,कार्तिक १२ गते । नेपाली काँग्रेसकी नेतृ तथा पुर्वमन्त्री चित्रलेखा यादबले अबको निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताएकी हुन ।
स्वर्गीय राजकपुर यादवको ५ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेतृ यादवले कम्युनिष्ट पार्टीलाई जनताले बहुमत दिएपनि जन अपेक्षा अनुरुप काम गर्न नसकेकाले जनप्रिय काम केबल काँग्रेसले मात्र गर्न सक्ने कुरा सबै जनताले बुझिसकेको बताईन।
जनताको पक्षमा काँग्रेसले मात्र काम गर्न सक्ने कुरा सबैले बुझिसकेकाले अबको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्दै उनले पार्टीभित्रको आन्तरिक बिवादहरुलाई मिलाएर एकिकृत ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए ।
स्व.राजकपुर यादवको शालिक निर्माण र ट्रष्ट स्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्व.यादवको परिवारजनलाई पार्टीले सहयोग गर्ने बताए ।
नेपाली काँग्रेस गोलबजार नगर समितिद्वारा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादब, बरिष्ठ पत्रकार रामरिझन यादबले स्व.राजकपुर यादवको योगदानबारे चर्चा गरेका थिए ।




















