सिरहा, कार्तिक ११ गते । वर्षौदेखि खानेपानी धाराको आसमा बसेका सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित कालापानीका स्थानीयहरुलाई आजदेखि घर घरमै खानेपानीको धारा आएका छन् ।
घर घरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका हुन् । यस अघि उक्त क्षेत्रका ६० घर परिवारहरुले नजिकै रहेको सर्रे खोलाको पानी खान वाध्य हुँदै आएको थियो ।
धनगढीमाई नगरपालिकाको ३० लाख र सामुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजारको लागत सम्पन्न कालापानी खानेपानी आयोजना निर्माण भएका हुन् ।
उक्त खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै नगरप्रमुख हरिनारायण चौधरीले मितव्ययिता ढंगले धारामा आएको शुद्ध पानी खान अनुरोध गर्दै बनेको संरचनालाई सबैले संरक्षण गर्न आग्रह गर्नुभयो ।
पानी ल्याउने झन्झट एवम् समय पनि बचत हुने भएकाले बचत भएको समयलाई सदुपयोग गर्दै आर्थिक उपार्जनमा लगाउन सबैमा सुझाव समेत नगरप्रमुख चौधरीले दिनुभयो ।
विधिवत् रुपमा खानेपानीको आयोजना उद्घाटनको क्रममा धनगढीमाई नगरपािलकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।




















