काठमाडौं,कार्तिक ११ गते – नेपाल राष्ट्र बैंकले आज  २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।

तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने अवस्थाका व्यवस्थापनमा समेत बैंकलाई अप्ठेरो परेको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्कानुसार हाल बैंकका औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव १५ छ ।

बजारमा नयाँ निक्षेप नआएको र राष्ट्र बैंकले तोकेबमोजिम कर्जा निक्षेप अनुपात कायम गर्नुपर्नेलगायतका समस्याले बैंकले निक्षेपको व्याजसमेत बढाउनु परेको बैकरहरु बताउँछन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको सुरुआतमै निक्षेपमा दुई अङ्कको व्याजदर तोकेका थिए । यसरी बैंक तथा वित्तीय संस्थाले व्याजदर असाधारण रुपमा बढाएको जनाउँदै व्यवस्थित गर्न राष्ट्र बैंकले तीन बुँदे निर्देशन नै जारी गरेको थियो । हाल अधिकांश बैंकले निक्षेपमा अधिकतम नौ दशमलव ३६ प्रतिशत व्याज दिँदै आएका छन् ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपो मार्फत प्रणालिमा तरलता प्रवाह गर्दै आएको छ । यही कात्तिक ३ गते पनि बैंकले १० अर्व रुपैयाँ बराबरको ७ दिन अवधिको रिपो जारी गरेको थियो