बारा, कार्तिक १० गते– प्रथम त्रैमासिक परीक्षा स्थगित गरी सामुदायिक विद्यालयमा सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर–१२ सितलपुर टोलस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा बुधबार प्रथम त्रैमासिक परीक्षा स्थगित गरी आज सांस्कृतिक कार्यक्रम भइरहेकाले परीक्षा नै प्रभावित भएको अभिभावकले बताएका छन् ।
स्थानीयबासीमा सम्झदारी नभएकाले बालबालिकाको भविष्य अन्धकारमा राखेर परीक्षा स्थगित गरी विद्यालय परिसर भित्र सांस्कृतिक कार्यक्रम गराइएको अभिभावक मुनीलाल यादवले बताउनुभयो ।
परीक्षा अघि वा परीक्षा सकेपछि विद्यालयको सट्टा अर्को ठाउँमा साँस्कृतिक कार्यक्रम गर्न सकिन्थ्यो, दुर्भाग्यवश आजको नाँच कार्यक्रमले परीक्षामा केन्द्रीत भएको विद्यार्थीको दिमाग परीक्षा भन्दा अन्य तिर जान सकिने उहाँले जिकिर गर्नुभयो ।
कातिक ७ गतेदेखि विद्यालयमा सुरु भएको परीक्षा आज भने गणित विषयको परीक्षा रहेकाले आज गरिने गणित विषय बिहीबार परीक्षा गरिने नगर शिक्षा समिति सदस्यसमेत रहनु भएका विद्यालय प्राध्यानाध्यापक राजकिशोर सहनीले बताउनुभयो ।
दिउँसो ११ बजेदेखि १ बजेसम्म जारी परीक्षामा यस विद्यालयका कक्षा एक देखि आठ कक्षासम्म करिब तीन सय २० जना छात्रछात्राको जाँच प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।
विद्यालय परिसर भित्र नै मुआमाईको मन्दिर रहेको तथा केही दिन अधि मुआमाईको मेलामा मनोरञ्नजनका लागि ४० हजार रुपियाँमा कार्यक्रम राखिएको थियो ।
लगातार वर्षाको कारण सो मेलामा नाच हुन नसकेपछि परीक्षा स्थगित गरी आज भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ प्रसाद यादवले स्वीकार गर्नुभयो ।
यसरी परीक्षा स्थगित गरेका गल्ती भएको कलैया उपमहानगरपालिका वडा नम्बर–१२ का वडा अध्यक्ष राजेश्वर प्रसाद केशरीले भन्नुभयो ।
विद्यालयमा परीक्षा स्थगित नगरी रातको समयमा गर्न सुझाव दिए पनि बेवास्ता गरेको कलैया नगरप्रमुख राजेश राय यादवले जानकारी दिनुभयो




















