काठमाडौं,कार्तिक ९ गते । न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्याको समाधान गर्नुपर्ने जनाएको छ ।

न्याय क्षेत्रमा देखिएको विकृतिको प्रमुख कारण न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव हो भन्दै समाजले अब न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक रहेको पनि जनाएको छ ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ,न्यापालिका उपर निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टिकाटिप्पणी आदि सामाजिक सन्जाल र आम सञ्चार मार्फत् सार्वजनिक हुनु दुःखद विषय हो । यस्ता कुरामा संवेदनशील र गम्भीर हुनुपर्दछ । वास्तविकता के हो भन्ने कुरा छानविन पश्चात एकीन हुन सक्तछ ।

सार्वजनिक रुपमा उठाइएका प्रश्नहरु सत्य–तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तीजनक कार्य मान्नुपर्ने भन्दै विज्ञप्तिमा लेखिएको छ,यस्ता कुराहरुलाई लामो समयसम्म कुनै निकास नदिई त्यत्तिकै राख्दा न्यायपालिकालाई थप क्षति पुग्न सक्ने हुँदा यस्ता कुराको समयमा नै समाधान खोजिनुपर्छ