सिरहा, कार्तिक ८ गते / सिरहास्थित धनगढीमाई नगरपालिका र नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठान (नाष्ट) बीच खाद्य हरियाली शहर कार्यक्रम सम्बन्धी सम्झौता हुँदैछ ।
भोलि मंगलबार विहान ११ बजे धनगढीमाई नगरपालिकाको सभा हलमा आयोजना हुने उक्त कार्यक्रममा धनगढीमाई नगरपालिकाका तर्फबाट नगरप्रमुख हरिनारायण चौधरी र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले जानकारी दिनुभएकोे छ ।
विद्यालयमा विद्यार्थीको संलग्नतामा अर्गानिक करेसा बारीमा तरकारी, फलफुल तथा जडिबुटीहरुको खेती तथा छत बारीमा हाईड्रोपोनिक तथा आक्वापोनिक खेती विकास, विस्तार र प्रबर्धन उद्देश्यले नगरपालिका र नास्टको सहकार्यमा उक्त कार्यक्रम संचालन हुन लागेको नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले नगरक्षेत्रभित्रमा अर्गानिक करेसाबारी तथा खेती विकास विस्तार र प्रबर्धन गर्ने उद्देश्यले नगरपालिका र नास्टबीच सम्झौता हुन लागेको जानकारी दिनुभएको छ । नगरपालिका र नास्टबीचको खाद्य हरियाली शहर कार्यक्रम सम्झौताले नगरक्षेत्रभित्रका कृषकहरुलाई आर्थिक उपार्जनमा सहयोग पुग्ने नगरप्रमुख चौधरीले जनाउनुभयो ।
सोमबार आज नगरपालिका प्रवेश गर्नुभएका नास्टका टोलीहरुले भोलि मंगलबार विभिन्न विद्यालय, औद्योगिक ग्राम, बस्तीहरु, बागवानी केन्द्र, माछा, आँपका बगान लगायतका स्थानहरुमा अवलोकन गर्नुको साथै श्री जनता माध्यमिक विद्यालय तिनकोनी प्राविधिक धारमा विरुवा रोपन कार्यक्रम समेत रहेको जनाइएको छ ।
टोलीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ, विज्ञान संकायका प्रमुख डा.कान्ति श्रेष्ठ, सह प्राज्ञ डा.ईन्दिरा पराजुली, सचिव डा.महेश कुमार अधिकारी लगायतको सहभागिता रहेको छ ।




















