काठमाडौं,कार्तिक ७ गते – काठमाडौं महानगरपालिकाले आइतबार र सोमबार गरेर आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले यो लक्ष्य राखेको हो ।
आज वडा २१ क्लिनिकमा गएर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम शुरु गरे । महानगरले २७९ वुथबाट कार्यक्रम चलाउन ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेको छ ।
कार्यक्रम सुरु गर्दै प्रमुख शाक्यले, महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थय सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
‘हामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइरहेका छौं । तर कतिपय सेवाग्राहीहरु पैसा तिरेर निजी क्लिनिकमा गइरहनुभएको छ । गएको बर्ष हामीले वितरणका लागि तयार पारेको सबै औषधि वितरण भएन । हामी निःशुल्क सेवा दिन्छौँ भन्दा नागरिक किन निजीतिर आकषिर्त हुनुहुन्छ रु हामीले हाम्रा सेवाको समीक्षा गर्नुपर्छ,’ प्रमुख शाक्यले भने, ‘हाम्रो स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढाउनुपर्छ ।’
महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार ०७८ बैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ बर्षसम्मका ५ हजार ९९५ जना र १ बर्षदेखि ५ बर्षसम्मका ५३ हजार ५४३ गरी जम्मा ५९ हजार ५३८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसैगरी ३ सय जना सुत्केरीलाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ५३ हजार ८०३ जनालाई जुकाको औषधि दिइएको थियो ।
महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ ।
कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ




















