विराटनगर,कार्तिक ६ गते –विराटनगर महानगरपालिका(९ स्थित महेन्द्रचोकमा रहेको एउटा मोबाइल पसलमा चोरी भएको छ। सटरमा लगाएको ताला फोडेर मधुकुमार राईले सञ्चालन गरेको सनराइज इन्टरप्राइजेज नामक मोबाइल पसलमा चोरी भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिए। राईले २०५८ सालदेखि मोबाइल पसल सञ्चालन गर्दै आएका थिए।
एसपी जीसीका अनुसार चोरीमा संलग्नहरु मोबाइल पसलसँगै रहेको किराना पसलको गोदाम फोडेरभित्र छिरेको पाइएको छ। पसल सञ्चालक राईले पसलमा रहेकामध्ये १५र१६ वटाभन्दा बढी स्मार्ट फोन लगायतका मोबाइल चोरी भएको जानकारी दिए। शुक्रबार बेलुका पसल बन्द गरेर घर गएका उनले शनिबार बिहान ११ बजेतिर पसल खोल्दा चोरी भएको थाहा पाएको उनले बताए।
‘पसल खोल्दा सामानहरु सबै छरपस्ट थिए,’ राईले भने,‘मोबाइल लगेर खोलहरु भने त्यत्तिकै छाडिएको रहेछ।’ उनका अनुसार पसलबाट चोरी भएको मोबाइलका खोलहरु राखिएको एउटा जेब्रा झोलासमेत ५० मिटरजति उत्तरमा भेटिएको छ। उक्त झोला चोरीमा संलग्नहरुकै हुनसक्ने प्रहरीको अनुमान छ। त्यही पसलमा २०७६ साल असारमा पनि चोरी भएको थियो। त्यतिबेला प्रहरीले पसलबाट चोरी भएको मोबाइल किन्ने दुई जना पक्राउ परेका थिए। पसलबाट ५० वटाभन्दा बढी मोबाइल चोरी भएकोमा ३ वटामात्रै प्रहरीले फेला पार्न सकेको थियो।
पहिले सटर फोडेर चोरी गरिएकै स्थानबाट पुनः ताला फुटाएर चोरी गरिएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा यसअघि नै चोरीमा संलग्न रहेकाहरुले पुनः दोस्रो पटक पनि पसल फुटाएर चोरी गरेको हुनसक्ने आशंका छ।
एसपी जीसीले घटनामा संलग्नको पहिचान हुन नसकिरहेको बताए। घटनामा संलग्नको पहिचान र खोजीलाई तीव्र पारिएको जानकारी उनले दिएका छन्




















