सिरहा,कार्तिक ४गते । जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर दुर्व्यवहार गरेका छ । सि के राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको हो ।
लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका छन् ।

उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका थिए ।
खनिएको खाल्डो त्यसै छाडिएको छ भने निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् ।





















