आबुधावी,कार्तिक ४गते–संयुक्त अरब इमिरेट्स ९यूएई० र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकपमा लगातार दुई खेल जित्दै श्रीलंका सुपर १२ मा छनोट भएको छ। बुधबार राति भएको समूह ‘ए’को खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका अन्तिम १२ मा पुगेको हो।

दुई खेलबाट चार अंक जोडेको श्रीलंकाले नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्नुअघि नै सुपर १२ मा स्थान पक्का गरेको हो। लगातार दुई खेल हारेको नेदरल्यान्ड्स भने पहिलो चरणबाटै बाहिरिएको छ। अब आयरल्यान्ड  र नामिबियाबीच हुने खेलको विजेता सुपर १२ मा पुग्नेछ।

आबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८।३ ओभरमा सबै विकेट गुमाएर एक सय एक रन मात्र बनाउन सक्यो। आयरल्यान्डका लागि कप्तान एन्ड्रयु बालब्रिनीले सर्वाधिक ४१ रन बनाए। यस्तै कर्टिस क्याम्परले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्सनाले तीन विकेट लिए। यस्तै चमिका करुणारत्ने र लाहिरु कुमाराले दुई÷दुई तथा दुश्मन्था चमारा र वानिन्दु हसरंगाले एकरएक विकेट हात पारे। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर एक सय ७१ रनको योगफल खडा गरेको थियो। आठ रनमै तीन विकेट गुमाएको श्रीलंकाको पालिलाई प्रारम्भिक ब्याट्सम्यान पथुम निसंका र अलराउन्डर वानिन्दु हसरंगाले सम्हालेका थिए। चौथो विकेटका लागि यी दुई खेलाडीले एक सय २३ रनको साझेदारी गरेपछि श्रीलंकाले सम्मानजनक योगफल खडा गरेको थियो। हसरंगाले ४७ बल खेल्दै १० चौका र एक छक्काको मद्दतमा ७१ रन बनाए। निसंकाले पनि ४७ बल खेल्दै ६ चौका र एक छक्काको मद्दतमा ६१ रन जोडे। कप्तान दसुन सनकाले अविजित २१ रन बनाए।

आयरल्यान्डका जोसुआ लिटलले चार ओभरमा २४ रन खर्चेर चार विकेट लिए। यस्तै मार्क अडाएरले दुई तथा पाउल स्टर्लिङले एक विकेट हात पारे