तिलोत्तमा,अजोज ३१ गते । रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई गाउँपालिकांं–५ स्थित दुई मुहानमा कोटहीमाई–४ कदमहवाका अन्जादी १९ वर्षीय अनिल चौधरीको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
दुर्गा मूर्ति बिसर्जनका क्रममा मृत्यु भएका चौधरीको खोजतलास पश्चात आइतबार बिहान अन्दाज ७ बजे घटनास्थल भन्दा ५ सय मिटर तल झाडीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।
शुक्रबारदेखि नै मूर्ति बिर्सजन गर्न नदीमा आएका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताए । शनिबार दिउँसो साढे २ बजे मूर्ति बिसर्जन गर्न आएकामध्ये युवामध्ये केही युवा पानीमा पसेर पौडी खेल्न थाले उनले भने पौडी खेल्ने क्रममा एक जना युवा डुबेर वेपत्ता भएका थिए । शव पोष्टमार्टम पश्चात परिवारलाई बुझाइएको चन्दले जनाए ।
गत वर्ष सोही स्थानमा मूर्ति बिसर्जन गर्न गएका सम्मरीमाई–६ महदेहियाका मुकेश चौधरीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । नदीमा डुबेर वेपत्ता भएका चौधरीको शव २० घण्टापछि फेला परेको थियो ।




















