सिरहा,असोज २६ गते । आस्थापूर्वक मनाइने दशैंको आज सातौ दिन विभिन्न शक्ति पिठहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । आजैका दिन दशैं घरमा फुलपाती पनि भित्र्याइने भएकोले आजको दिन विशेष रहेको जनाइएको छ ।
बडो धुमधामसँग मनाइने दशैंमा विहानैदेखि सवैजसो शक्तिपिठमा कालरात्री देवीको विधिपूर्वक पूजा अराधना गर्ने दर्शनार्थीहरुको भीड लागेको हो । दुलहीजस्तै सिंगारिएको विभिन्न शक्ति पिठहरुमा विशेष गरी साँझको समयमा झकिझकाउ हुने गरेको छ ।
१५ दिनसम्म विशेष रुपले मनाइने वडा दशैं पर्व नवरात्रका दिन देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकैदिन पूजा आराधना गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
कोरोना संक्रमण अझै कायमै रहेकोले स्वास्थ्य सुरक्षा विधि अपनाएर दशैं, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।



















